सांसदहरूका लागि विज्ञ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहले सांसदहरूका लागि विज्ञ उपलब्ध गराउन सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन् ।
 
बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले विज्ञ नहुँदा सांसदहरूको काम प्रभावकारी हुन नसकेको र यसको असर मुलुकले नै व्यहोर्नु परिरहेको बताएका हुन् ।
 
‘पीएचडी गरेको भएता पनि एउटा विषयमा गरेको हुन्छ । सबै विषय सबैलाई त थाहा हुन्न’ उनले प्रश्न गरे, ‘सभामुख महोदय एउटा सांसदलाई पाँच जना विज्ञ उपलब्ध गराउन सकिंदैन ?’
 
जनतालाई उपलब्धी के देखाउने ?
 
साहले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यतिर पुगेको तर कानुन निर्माणको प्रगति निराशाजनक रहेको बताए ।
 
‘विधेयक अधिवेशनमा तीन वटा विधेयक पास भएको छ । अघिल्लो अधिवेशन समेत गरी चार वटा विधेयक पास भयो । त्यसमा पनि अधिकांश संशोधन विधेयक र अघिल्लो कार्यकालमै राष्ट्रिय सभामा दर्ता भएर आएका विधेयक छन् । अब जनताकहाँ जाँदा हामीले के काम गरेको भनी देखाउने,’ उनले भने ।
 
सांसदका लागि सिंहदरबार र संसद भवनमा काम गर्ने ठाउँसमेत नरहेको पनि उनले बताए । संसदीय दलमा प्रत्येक सांसदका लागि बस्ने ठाउँ नरहेको उनको भनाइ छ ।
 
सांसदका लागि अध्ययन गर्ने ठाउँ उपलब्ध गराउने, लाइब्रेरी प्रभावकारी बनाउने लगायतका काममा सभामुखले पहल लिनुपर्ने र सरकारले सुन्नुपर्ने उनको माग छ ।
 
प्रत्येक सांसदका लागि स्वकीय सचिव दिइएको तर उनीहरूका लागि काम गर्ने ठाउँ नरहेको साहले बताए । काम गर्ने ठाउँ नदिने भए सांसदका स्वकीय सचिव फिर्ता गर्न उनको आग्रह छ ।