अर्थतन्त्र अझै समस्यामा

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्र अझै समस्यामा रहेको विषय स्वीकार्न सरोकारवालालाई आग्रह गरेका छन्।
 
महासंघको ५८ औं वार्षिकोत्सवमा अध्यक्ष ढकालले समस्या छ भन्ने स्वीकार्दा मात्रै समाधानको खोजी हुने बताए।
 
‘अहिले  आम्दानी र खर्चबीच तालमेल मिलेको छैन। मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ। तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन। यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ,’ अध्यक्ष ढकालले बताए।
 
उनले अर्थतन्त्र सुधारको लागि दिगो काम गर्न निजी क्षेत्र तयार रहेको भन्दै वातावरण बनाउनका लागि उनले आग्रह गरे।
 
‘राजनीतिक तहबाट  त्यसलाई  अपनत्व  ग्रहण  गरिदिनुपर्‍यो।  कानुनी  अड्चन हुन  भएन  र वातावरणीय रुपमा दिगो हुनुपर्‍यो। यी सबै आधारभूत विषय पूरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ,’ ढकालले भने।
 
उनले आर्थिक विकासका लागि आन्तरिक स्रोत बढाउन आवश्यक रहेको पनि बताए।