सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गरौं

चैत्र २८,२०८०

-आस्था न्यूज

चैत २८, २०८० काठमाडौं ।
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन्। 
 
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन्। 
 
उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए। उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए। सरकारमा हुँदा जनताहरु सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको बताए। 
 
उनले कांग्रेसले संसदको स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद अवरुद्ध गरेको बताए।