Trending :
 

डोल्पामा डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते

चैत्र २९,२०८०

-आस्था न्यूज

चैत २९, २०८० काठमाडौं ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् ।
 
च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । उनका अनुसार, दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए ।
 
गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो । दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज ल्याउने प्रयास भइरहेको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
 
डोल्पामा गएको सोमबार मष्टाभवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जार जना सैनिक समेत गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको उपचारका क्रममा निधन भएको छ । थप दुई जनाको उपचार जारी छ ।