लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
-आस्था न्यूज
चैत ३०, २०८० काठमाडौं ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदै छन् ।
विश्वासको मत लिनका लागि सभामुख तुलाराम घर्ती मगरले आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएका छन् ।
महरा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गरेका थिए ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।
महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् । तर पूर्व सहमति अनुसार नाउपा र जसपाले २/२ मन्त्री पाउने सहमति भएको बताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।