एसीसी प्रिमियर कपः कुवेतलाई ७ विकेटले हराउँदै युएईको विजयी सुरुवात

चैत्र ३०,२०८०

-आस्था न्यूज

चैत ३०, २०८० काठमाडौं ।
ओपनर एलिशान शराफु र मध्यक्रमका ब्याटर आसिफ खानको उत्कृष्ट ब्याटिङमा युएईले एसीसी प्रिमियर कपमा कुवेतलाई ७ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।
 
१७९ रनको लक्ष्य पछ्याएको युएईले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा एलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्कासहित ९० रनको अविजित इनिङ खेले । आसिफ खान ४८ बलमा ४ चौका र ६ छक्कासहित ७४ रनमा नट आउट रहे ।
 
चौथो विकेटका लागि आसिफ र एलिशानले ८४ बलमा १५३ रनको अविजित साझेदारी गर्दै सहज जित दिलाए । तर सुरुवात भने राम्रो थिएन । इनिङको सुरुवाती दुई बलमा मोहम्मद वासिम र तानिश सुरीलाई शून्यमा गुमाएको थियो । विष्णु सुकुमारन ११ रनमा आउट हुँदा एक समय युएई ४ ओभरमा २६-३ को अवस्थामा पुगेको थियो । कुवेतका शाहरुख क्द्दिुसले २ र यासिन पटेलले १ विकेट लिए ।
 
त्यसअघि अल अमरेत मैदान २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेतले २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । कुवेतका ओपनर क्लिन्टो आन्टोले २३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ५४, राजिवा सानदारुवान २१, मित भावसार २५, उस्मान पटेल २७ र बिलाल ताहिरले २३ रन बनाए । राम्रो सुरुवात पाएपनि ठूलो इनिङमा बदल्न सकेको थिएन ।