२१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपालमा
-आस्था न्यूज
वैशाख १, २०८१ काठमाडौं ।
वसन्तकालीन याममा विश्वकै अग्लो शिखर सगरमाथासहित २१ वटा हिमाल आरोहण गर्न ४२ मुलुकका विदेशी आरोही नेपाल आइपुगेका छन् । पर्यटन विभागका अधिकृत दिलीप महर्जनका अनुसार, चैत मसान्तसम्म विभागबाट ४२ वटा मुलुकका आरोहीले आरोहण अनुमति लिइसकेका हुन् ।
जसमा संयुक्त राज्य अमेरिकाका ४८, चिनियाँ २५, जापानी १८, बेलायती १६, रसियाली १६, पोलिस ९, अस्ट्रेलियाली ९ जना छन् । यी मुलुकबाहेक अन्य ३५ मुलुकबाट न्यूनतम १ देखि अधिकतम ६ जनासम्म आरोहीहरू नेपाल आएका छन् । त्यसैगरी नेपालबाट हालसम्म ७ जनाले आरोहण अनुमति लिएका छन् ।
विभागले फागुन १८ यता सगरमाथासहित पूर्वमा कञ्चनजंघादेखि पश्चिममा धौलागिरि हिमाल आरोहणका लागि ६१ वटा आरोहण दललाई सलामी दस्तुर लिई आरोहण अनुमति दिएको हो । जसमा १ सय १९ महिला र ४ सय २४ पुरुष गरी ५ सय ४३ जना छन् ।
आरोहण अनुमति जारी गर्दा विभागले २८ लाख ३६ हजार ९ सय ३३ अमेरिकी डलर ९३७ करोड ७३ लाख ८३ हजार १ सय ६ रुपैयाँ० सलामी दस्तुर संकलन गरेको अधिकृत महर्जनले जनाए । हालसम्म विभागले प्राप्त गरेको सलामी दस्तुरमध्ये ३३ करोड रुपैयाँ सगरमाथा आरोहण गर्ने दलबाट संकलन भएको छ । सगरमाथा आरोहणका लागि २२ वटा आरोहण दलबाट २ सय ३४ जनाले अनुमति लिएका छन् । योपछि सर्वाधिक सलामी दस्तुर मकालु हिमालबाट भएको छ । आरोहणमा जाने ४ आरोहण दलका ४५ सदस्यबाट विभागले १ करोड ७ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ ।
यस पटक सगरमाथा आरोहण गर्न जानेहरूका लागि मौसम प्रतिकूल भएकाले आधारशिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउने कार्य प्रभावित भएको छ । पर्वतारोहण सञ्चालक संघका अध्यक्ष डम्मर पराजुलीका अनुसार, आधारशिविरमाथि आइसफल डाक्टरले बाटो बनाइरहेका थिए । तर केही दिनयता हिमाली भेगमा हिमपात भएका कारण आधारशिविरमाथि बाटो बनाउने कार्य प्रभावित बनेको हो । उनका अनुसार, मौसम सफा भएपछि आरोहीहरूका लागि बाटो बनाउने कार्य पुनः सुचारु हुनेछ । दोस्रो शिविरभन्दा माथि डोरी टाँगेर बाटो बनाउने काम जेठ पहिलो सातासम्म हुने व्यवसायीहरूले प्रक्षेपण गरेका छन् ।
नेपालले ५ हजार ५ सय मिटरभन्दा अग्ला १३ सय वटा हिमालमध्ये ४ सय १४ वटा आरोहण तथा अन्य पर्यटकीय गतिविधिका लागि खुला गरेको छ ।
नेपालमा पर्यटन विभागबाहेक नेपाल पर्वतारोहण संघले पनि हिमाल आरोहणको अनुमति जारी गर्छ । संघलाई सरकारले ५८ सयदेखि ६४ सय मिटरसम्मका २७ वटा हिमाल आरोहणको अनुमति जारी गर्न अनुमति दिएको छ ।