जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

बैशाख ०१,२०८१

-आस्था न्यूज

वैशाख १, २०८१ काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । आज नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन् । 
 
उनले जनताका सबै किसिमका गुनासाहरू यथोचित ढङ्गबाट समाधान हुने प्रतिबद्धता जनाए । कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि उनले बताए । 
 
उनले काठमाडौँ सहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताए । काठमाडौँ जिउँदो, जाग्दो सहर बनाउन आफूले काम गरिरहेको उनको जिकिर थियो । 
 
गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको बताए ।