Trending :
 

मिथिला क्षेत्रमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ सम्पन्न

बैशाख ०३,२०८१

-आस्था न्यूज

बैशाख ३, २०८१ काठमाडौं ।
मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।
 
वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (मापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष आज सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ सालमा परेको हो ।
 
गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।
 
गत शनिबार पञ्चमीका दिन दिनभरि निराहार उपवास बसेका व्रतालुले राति सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।