इलाम र बझाङ बाहेकका जिल्लामा मतदाता नामावली दर्ता सुरु

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
निर्वाचन आयोगले वैशाखमा उपनिर्वाचन हुने इलाम र बझाङ बाहेकका जिल्लामा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता सुरु गरेको छ। २०८४ को निर्वाचनका लागि आयोगले सोमबारदेखि मतदाता नामावली दर्ता सुरु गरेको हो।
 
आयोगको २०८० साल फागुन १३ गते बैठकले  प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य वैशाखमै सुरु गर्ने निर्णय गरेको थियो।
 
आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटो सहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम संकलन गर्दै आएको आयोगका प्रवक्ता शालिकराम  शर्माले बताए।  
 
अर्को कुनै जिल्लामा बसोबास गरिरहेको व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित प्रि(रजिष्ट्रेसन प्रणालीमार्फत आवेदन गरेमा त्यस्तो व्यक्तिको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता नामावली सङ्कलनको कार्य साविकमा झैँ प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने आयोगले जनाएको छ।
 
कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकता सम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नामलगायतका विवरणमा रहेको त्रुटि सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्नेछ। तर कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ।