Trending :
 

वायु सेवा निगमले बुझायो ऋण किस्ता वापत ५३ करोड

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋण वापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।
 
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजको आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो।
 
निगमले २०८० चैतसम्मको अवधिमा रु पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौ सय ६८ किस्ता रकम भुक्तानी गरेको छ। साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रासस