अमेरिका पठाइदिने भन्दै भारतीय नागरिकलाई बन्धक बनाउने ८ जनाविरुद्ध संगठित अपराधको मुद्दा

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
भारतीय नागरिकलाई अमेरिका पठाइदिने भन्दै असुली गरेर काठमाडौंमा बन्धक बनाएको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा अपहरण तथा शरीर बन्धक, लिखत कीर्ते र संगठित अपराधको कसूरमा मुद्दा दर्ता भएको छ ।
 
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो ।
 
जिल्ला प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा २ फागुन २०८० मा रातोपुलस्थित धोबीखोला करिडोर नजिकैको एक घरमा छापा मारेर ११ जना भारतीय नागरिकलाई उद्दार गरेको थियो ।
 
उद्दार गरिएकामध्ये भुपेन्दर सिंहका अनुसार, उनीहरुलाई काठमाडौंबाट यूएई-ब्राजिल हुँदै मेक्सिको लैजाने भनिएको थियो । त्यहाँबाट ‘वर्क पर्मिट’ बनाएर अमेरिका प्रवेश गराउने भनिएको थियो ।
 
तर, उनीहरुलाई नेपालमा ल्याएर एक घरमा बन्धक बनाइएको थियो भने हरियो पर्दामा फोटो र भिडियो खिचेर मेक्सिकोमा रहेको भन्दै फोटो र भिडियो परिवारलाई पठाइएको थियो । घरमा उनीहरु बाटोमा रहेको विश्वास दिलाएर पटकपटक पैसा माग्ने गरेको अनुसन्धानबाट पनि खुलेको थियो ।