भूकम्प पीडितलाई वर्षा अघि नै स्थायी आवासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

बैशाख ०३,२०८१

-आस्था न्यूज

वैशाख ३, २०८१ काठमाडौं ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोट, रुकुम लगायतका जिल्लाका भूकम्प पीडितलाई वर्षा अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।
 
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकलाई सोमबार सम्बोधन गर्दै उनले भूकम्प पीडितको अधिकार संकुचन नहुने गरी सहकार्यका साथ काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि आग्रह गरेका हुन् ।
 
अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटो छरितो ढंगले सम्पन्न गर्नका लागि आवस्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपील थियो । प्रक्रियागत अलमल र कानुनी जटिलताको मारमा भूकम्प पीडित पर्न नहुने कुराको हेक्का राखेर काम गर्न लामिछानेले सम्बन्धित पक्षलाई सचेत गराएका हुन् । उपप्रधानमन्त्री लामिछानेले सरकारले भूकम्प पीडितको घरभित्र बस्न पाउने अधिकार हनन नहोस् भन्ने कुरामा सरकार गम्भीर भएर लागि परेको पनि बताए ।