Trending :
 

सुप्रिम सहकारी ठगीः जीबी रविसहित २८ जनाविरुद्ध मुद्दा दर्ता

बैशाख ०४,२०८१

-आस्था न्यूज

वैशाख ४, २०८१ काठमाडौं ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको  जिल्ला अदालत रुपन्देहीमा ठगी मुद्दा दर्ता भएको छ। ओखलढुङ्गा घर भएका तर हाल फरार रहेका गितेन्द्रबाबु ९जीबी० राईसहित २८ जनालाई प्रतिवादी बनाएर  सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता  दायर गरेको हो । 
 
उक्त प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध आजदेखि  थुकछेक बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अन्तराम मरासिनीले   जनाए । उक्त प्रकरणमा  हालसम्म  काठमाडौँ, पोखरा, रुपन्देहीका गरी  ६ जना पक्राउ गरेका छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा  राख्ने प्रक्रियामा जानेछ । 
 
प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन दुइ दिन अध्ययनपछि सोमबार मुद्दा दायर गरिएको हो । अभियोगपत्रमा १ अर्ब २ करोड  सर्वसाधरणको बचत हिनामिना भएकाले सोही अनुसार विगो दाबी गरिएको छ । 
 
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापामगर  र कुमार रम्तेल पक्राउ परेका छन् । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।  
 
उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभियोगपत्रमा उक्त सहकारीवाट गृहमन्त्री लामिछानेले समेत ऋण  लिएको पाइएको छ ।
 
ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा दुई पटक गरेर करिब चार करोड रुपैयाँ प्रवाह भएको अभियोगपत्रमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा गृहमन्त्रीलाई प्रतिवादी  भने बनाएको छैन ।