उपनिर्वाचनः आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही हुने

बैशाख ०४,२०८१

-आस्था न्यूज

बैशाख ४, २०८१ काठमाडौं ।
आसन्न उपनिर्वाचनमा आचारसंहिता उल्लङ्घन भए तत्काल कारबाही गर्न निर्वाचन आयोगले एक सामाजिक सञ्जाल इकाई गठन गर्ने भएको छ । 
 
इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । 
 
निर्वाचन आचारसंहिता गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म लागू भइसकेको छ । सामाजिक सञ्जालबाट आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको लागि आयोग समक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन इकाई गठन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
 
सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन आयोगको भनाई छ ।