आइपिएलः कोलकातालाई हराउदै राजस्थानको रोमाञ्चक जित

बैशाख ०५,२०८१

-आस्था न्यूज

वैशाख ५, २०८१ काठमाडौं ।
इंग्लिस ब्याटर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्समाथि २ विकेटको जित हात पारेको छ ।
 
२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेले  ।
 
बटलरको जारी प्रतियोगिता दोस्रो र आईपीएल करिअरको ७औं शतक हो । यस सिजनमा बेंग्लोर विरुद्ध १०० रन बनाएका थिए । अन्तिम ६ बलमा जितको लागि ९ रन चाहिएको थियो । पहिलो बलमा लङअनमा छक्का हाने पनि बटलरले त्यसपछि लगातार तीन बल डट खेलेका थिए । पाँचौं फुलटस बलमा दुई रन बटुल्दै बराबर गरेका थिए । अन्तिम बलमा एक रन बटुल्दै जित दिलाए ।
 
एक समय ३६ बलमा ९६ रन चाहिएको अवस्थाबाट बटलरले अन्तिम समयसम्म खेल्दै टोलीलाई जिताएका हुन् । रियान पराग १४ बलमा ४ चौका र २ छक्कासहित ३४ तथा रोभम्यान पावेलले १३ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए ।