नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ करोड भ्रष्टाचारमा दोषी ठहर

बैशाख ०७,२०८१

-आस्था न्यूज

बैशाख ७, २०८१ काठमाडौं ।
नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पौडेललाई नै जिम्मेबार ठहर गर्दै दोषी ठहर  गरेको हो । 
 
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।  विशेष अदालतका अनुसार सुनिल पौडेललाई विशेषले दोषी ठहर गर्दैउ २५ वैशाखमा सजाय निर्धारणको पेसी तोकेको छ ।  
 
पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् । साथै उनी पछिल्लो पटक नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए । 
 
विशेषले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैया राज्यकोषको दुरुपयोग भएको ठहर गरेको छ । विशेषले उक्त सफ्टवेयर खरिद सम्झौता गरेपछि सञ्चालनमा ल्याउने जिम्मेबारी उनकै हुने भन्दै दोषी ठहर गरेको हो ।