कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने

बैशाख ०९,२०८१

-आस्था न्यूज

बैशाख ९, २०८१ काठमाडौं ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् ।
 
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।
 
भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
 
थानी २४ अप्रिलमै काठमाडौंबाट कतार प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
 
यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।
 
कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।