टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध आर्को पनि भ्रष्टाचार मुद्दा
-आस्था न्यूज
बैशाख ९, २०८० काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा उनी विरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले पौडेललाई २३ करोड ७५ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकुत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ। गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेको थियो। उनी अहिले पनि न्यायिक हिरासतमा छन्।
आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेल विरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।
विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन्। उनी विरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो।
सुनिल पौडेल विरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो। गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ। विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेसी तोकेको छ।