आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्ने दाबी

बैशाख ०९,२०८१

-आस्था न्यूज

बैशाख ९, २०८० काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गर्न गरिने बताएका छन् ।
 
आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले १५ वर्षमा बाध्यकारी वैदेशिक रोजागरीको अन्त्य हुने बताएका हुन् ।
 
‘हामीले अहिले देखि नै रोजगारीको क्षेत्रमा काम गर्न पाउने हो भने आगामी १५ वर्षमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुनेछ,’ उनले भने ।
 
श्रम मन्त्रालयले रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र प्रशिक्षण केन्द्रहरू बीच समन्वय गर्ने उद्धेश्यका साथ बृहत रोजगारीको मेला आयोजना गर्ने तयारी गरेको छ ।
 
रोजगार मेला आयोजनाका विषयमा सुझाव लिनका लागि मन्त्रालयले आइतबार छलफल आयोजना गरेको थियो ।
 
मेलामा मुख्य गरी श्रमिकको खोजीमा रहेका रोजगारदाता, अवसरको खोजीमा रहेका युवा र विभिन्न सीपयुक्त तालिम प्रदान गरी रहेका प्रशिक्षण केन्द्रको सहभागिता रहने मन्त्री अर्यालले बताए ।