Trending :
 

फिल्म

'सेतो सूर्य'लाई चार अन्तराष्ट्रिय अवार्ड

चैत्र २८,२०७३

-

चैत्र २८-

स्विट्जरल्यान्डमा आइतबार सम्पन्न ‘फेस्टिभल इन्टरनेसनल डी फिल्मस् फ्रिवर्ग'मा नेपाली फिचर फिल्म 'सेतो सूर्य' चार विधामा पुरस्कृत भएको छ ।

दीपक रौनियारद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘सेतो सूर्य' महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र तर्फ ‘फिचर फिल्म' विधाको प्रतिस्पर्धामा समावेश थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले दिएको जानकारी अनुसार फिल्मले ‘स्पेसियल मेन्सन अफ द जुरी’, ‘अडियन्स च्वाइस अवार्ड, दि इक्युमेन्सियल जुरी अवार्ड’ र ‘द डन क्विजोटे अवार्ड’ गरी चारवटा अवार्ड जितेको छ।

जसमध्ये इक्युमेन्सियल अवार्ड बिकास उन्मुख देशका विषय उठाइएको फिल्मलाई दिने अवार्ड हो ।

सिनेम्याटिक अनुसन्धान तर्फ दिइने ‘द डन क्विजोटे अवार्ड’ पनि दीपक रौनियारको निर्देशनमा बनेको उक्त फिल्मले प्राप्त गरेको हो।

विश्व चलचित्रमा प्रतिष्ठित मानिने महोत्सवमा यस पटक ‘न्यु टेरिटरी' विधाअन्तर्गत डेढ दर्जनभन्दा बढी कथानक एवं लघुचलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमा ‘कुमारी', ‘सिन्दुर', ‘वासुदेव', ‘कागबेनी', ‘नुमाफुङ', ‘मुकुन्डो', ‘सुनगाभा', ‘लुट', ‘कालो पोथी', ‘हाइवे', ‘सेतो सूर्य'लगायतका नेपाली फिल्महरु प्रदर्शन गरिएको थियो ।

महोत्सवमा प्रदर्शन हुने नेपाली चलचित्रलाई अंग्रेजी र फ्रेन्च भाषामा सबटाइटलिङ गरिएको थियो ।

३१ मार्चबाट सुरु भएको फ्रिवर्ग फिल्म फेस्टिभल आइतबार सम्पन्न भएको हो।