गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं। 
गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । गत सोमबार सर्वोच्च्का न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।
 
गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी सभामुखसहितको हस्ताक्षरमा मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेसले त्यसविरुद्ध रिट दायर गरेको थियो ।
 
यसअघि उक्त रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालिक असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
 
यस्तै वैशाख ७ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारी पक्षलाई सर्वोच्चले आदेश गरेको थियो भने मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्त गर्दाका सम्पूर्ण कागजात पनि झिकाउने आदेश भएको थियो । त्यसपछि सोमबार भएको सुनुवाई हेर्दाहेर्दैमा परेको थियो ।
 
 
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते दायर रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरेका छन्।
 
सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । रिटमा प्रदेश प्रमुख भट्टले आफैँले संविधानबमोजिम दिएको पत्र विपरीत कार्य गरेको पनि जिकिर गरिएको छ ।
 
सभामुखको हस्ताक्षरमा मुख्यमन्त्री बन्न नपाइने भन्दै यसअघि ९कोशी प्रदेशमा० सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त नजिरका रूपमा प्रयोग भए गण्डकी सरकार ढल्ने निश्चित जस्तै छ ।