पानी नपरेपछि हेटौंडामा भ्यागुताको बिहे गरियो

बैशाख १२,२०८१

-आस्था न्यूज

वैशाख १२, २०८१ काठमाडौं ।
खडेरीका कारण पानी नपरेर सास्ती भोग्नुपरेपछि स्थानीयबासीले हेटौंडामा भ्यागुताको बिहे गरिदिएका छन् ।
 
हेटौंडा उपमहानगरपालिका-१६ का स्थानीयबासीले बुधबार बाजागाजासहित धुमधामसँग भ्यागुताको बिहे गरिदिएका हुन् ।
 
बुधबार बिहान पण्डितलाई नै बोलाएर बाजागाजासहित जोडी भ्यागुताको वैदिक परम्पराअनुसार बिहे गराइएको हो ।
 
स्थानीयले सहकाल र वर्षाका देवता मानिने इन्द्र भगवाको पूजा गरिसकेपछि भ्यागुता सजाएर बेहुला-बेहुली बनाउँदै बिहे गरिदिएका हुन् ।
 
भ्यागुताको उक्त बिहेमा १६ नम्बर वडाका रामकृष्ण कोइरालासहित करिब ३ सय मानिस सहभागी भए ।
 
बिहेका लागि हेटौँडा १६ स्थित राम मन्दिरबाट जन्ती निस्केको थियो । त्यसपछि उनीहरू खमारेस्थित कुवामा पुगेर पञ्चे बाजा बजाउँदै भ्यागुताको बिहे गरिदिएका हुन् ।
 
पानी नपरेपछि अहिले देशभर डढेलोको प्रकोप छ । हजारौँ हेक्टर जंगल सखाप भइसकेको छ भने तराई मधेसमा खप्नै नसक्ने गर्मी बढेको छ ।
 
पानी नपरेर अन्नबाली लगाउन र जोगाउन पनि कठिन भएपछि स्थानीयले परम्परागत विश्वासमा परेर भ्यागुताको बिहे गरिदिएको वडाअध्यक्ष कोइरालाले बताएका छन् ।