Trending :
 

आर्थिक गतिविधि

पतंजली आयुर्वेदद्वारा उत्पादित सामान मापदण्ड पूरा नगरी बिक्री वितरण गरेको भन्दै अनुगमन सुरु

' कालीमाटीस्थित शिवज्योति पतञ्जली आयुर्वेदमा आइतबार सिल गरियो'

चैत्र २८,२०७३

-

 २८,२०७३चैत्र,काठमाडौँ-

रामदेवको लगानीमा पतंजली आयुर्वेदद्वारा उत्पादित सामान मापदण्ड पूरा नगरी बिक्री वितरण गरेको भन्दै सरकारले डेढ दर्जन पसलमा अनुगमन गरेको छ ।

धेरै पसलहरुले सक्कल दर्ता प्रमाणपत्र विना जथाभावी रुपमा सामान विक्रीवितरण गरेपछि सरकारले अनुसन्धानलाई तीव्र बनाएको हो ।

अनुसन्धानकै क्रममा  मापदण्ड पूरा नगरी भारतीय योग गुरु रामदेवको लगानी रहेको पतञ्जली आयुर्वेदद्वारा उत्पादित सामान बेचेको भन्दै कालीमाटीस्थित शिवज्योति पतञ्जली आयुर्वेदमा आइतबार सिल गरेको छ।

 आपूर्ति मन्त्रालयका अनुसार सोही पसलमा सक्कल दर्ता प्रमाणपत्र नभएको, भ्याट र प्यानसँगै आयुर्वेदको नवीकरण नगरेको पाएपछि सिल गरेको हो ।

पाँच वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा विभिन्न कस्मेटिक सामान, आयुर्वेदिक औषधि, भिटामिन, साबुन, दैनिक प्रयोगमा आउने सामानका साथै खाद्य पदार्थ बिक्रीका लागि राखिएको छ।

आपूर्ति मन्त्रालयका शाखा अधिकृत गोविन्द लुइँटेलका अनुसार ‘अनुगमन टोलीले आयुर्वेद सञ्चालक हरिनारायण मानन्धरसँग कागजपत्र माग्दा घरमा रहेको बताए पनि उपलब्ध गराउन  नसकेपछि पसलमा सिल गरिएको हो ।

सरकारले चैत्रको  दोस्रो हप्ताबाट सुरु गरेको 'सुपर अनुगमन' विभिन्न क्षेत्रमा दैनिक तीव्र रुपमा भइरहेको छ ।

सरकारले नियम विपरित सामान विक्री वितरण गर्ने त्यस्ता व्यवसायीलाई तीन दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ ।