Trending :
 

कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न ओलीको आग्रह

बैशाख १८,२०८१

-आस्था न्यूज

बैैशाख १८, २०८१ काठमाडौँ । 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् ।
 
इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् ।
 
‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’
 
ओलीले कोशी प्रदेशको नामका विषयमा भएको आन्दोलन र विवाद आवश्यक नभएको बताए । उनले भने, ‘हामी सबै नेपाली हो । पहिले पनि मेची, कोशी, बागमतीलगायत अञ्चल थिए । यसरी साझा नाम राख्दा कसैलाई हेपेको हुँदैन । कसैको पहिचान मेटेको हुँदैन । तपाईंहरू भुलभुलैयामा नपर्नुस् ।’
 
ओलीले सुहाङ नेम्बाङलाई जिताउने इलामका मतदातालाई धन्यवाद ज्ञापन गरे । उनले पार्टीगत रूपमा साथ दिने नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई पनि धन्यवाद दिए ।
 
उनले भने, ‘इलामका सचेत जनतालाई धन्यवाद । कतिपय एमाले छोडेर एमाले हराउन लागेका थिए । हामीलाई तपाईंहरूले साथ दिनुभयो । माओवादी र विप्लवको पार्टीको साथको लागि धन्यवाद । सबै पार्टीका नेता र कार्यकर्तालाई धन्यवाद ।’
 
ओलीले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै भएको बताए । उनले भने, ‘यो देशलाई सधैं गरिब राखिराख्ने छुट हामीलाई छैन । मुलुकलाई आर्थिक रूपमा बलियो र समृद्ध बनाउने एजेन्डा नेकपा एमालेसँग मात्रै छ ।’
 
उनले युवा पुस्ताका नेता सुहाङ नेम्बाङले जितेसँगै इलाम सबै हिसाबले अघि बढ्न थालेको बताए । उनले भने, ‘तपाईंहरूले सुहाङलाई जिताएर पठाउनुभयो । अब इलामको विकासको जिम्मा सुहाङले र सुहाङको जिम्मा म लिन्छु । यो जिल्ला अब सबै हिसाबले अगाडि बढ्यो, बढ्यो ।’