काठमाडौंमा भोलिबाट सिप मेला सुरु हुने, २०८१ जनालाई रोजगारी दिने लक्ष्य

बैशाख १८,२०८१

-आस्था न्यूज

बैशाख १८, २०८१ काठमाडौँ । 
काठमाडौँ महानगरपालिकाले बुधबारबाट काठमाडौँको टुँडिखेलमा सिप मेला आयोजना गर्ने भएको छ। सिप मेलाको आयोजना काठमाडौँको टुँडिखेलमा गरिने मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोल जानकारी दिइन्।
 
मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने उद्देश्य रहेको उनले बताइन्। शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि सो मेलाको अवधारणा अघि सारिएको डंगोलले प्रष्ट पारिन्।
 
उपमेयर डंगोलले भनिन्, ‘सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तीमा २०८१ जनालाई रोजगारीसँग जोड्ने उद्देश्य लिएका छौं। शिक्षालाई सिपसँग जोड्नुपर्छ र सिपलाई श्रमसँग। र, श्रमलाई बजारसँग जोड्नुपर्छ। यसरी जोड्दै जानुपर्छ भने सीप मेलाको अवधारण अघि सारेका छौं।’
 
मेलामा तालिमका लागि अटो मोबाइल्स, हस्पिटालिटी एण्ड म्यानेजमेण्ट, सूचना प्रविधि, वेल्डिङ, गार्मेन्टस, व्युटिसिएन, डिजाईनिङ र पुरोहित रहेका छन्। सो तालिमको अन्तिम दिन रोजगार मेला हुने पनि काठमाडौं महानगरपालिकाले जनाएको छ।