मुम्बई इन्डियन्समाथि लखनउको सहज जित

बैशाख १९,२०८१

-आस्था न्यूज

वैशाख १९, २०८१ काठमाडौं ।
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको ४८ औं खेलमा लखनऊ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ । यो जितसँगै १२ अंकका साथ लखनऊ तेस्रो स्थानमा उक्लिएको छ ।
 
१४५ रनको लक्ष्य पछ्याएको लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ६२ रन बनाए । लोकेश राहुल २८, दीपक हुडा १८, एश्र्टन टर्नर ५ र निकोलस पुरनले १४ रन जोडे ।
 
मुम्बईका हार्दिक पान्ड्याले २, नुवान थुसशारा, जेराल्ड कोट्जी र मोहम्मद नाबीले १-१ विकेट लिए ।
 
त्यसअघि लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । नेहाल वढेराले ४१ बलमा ४ चौका र २ छक्कासहत सर्वाधिक ४६ रन बनाए । टिम डेविडले १८ बलमा ३ चौका र १ छकासहित ३५, ईशान किशन ३२ र सूर्यकुमार यादव १० रनमा आउट भए।
 
लखनऊका मोहसिन खानले २, मार्कस स्टोइनिस,नविन उल हक, मयंक यादव र रवि विश्रोईले १-१ विकेट लिए । मुम्बई १० खेलमा ३ मा जित र ७ मा हारसहित ६ अंकका साथ नवौं स्थानमा छ । लखनऊ १० खेलमा ६ मा जितका साथ १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।