लगनखेल बसपार्कलाई व्यवस्थित बनाउन छलफल सुरु

बैशाख १९,२०८१

-आस्था न्यूज

वैशाख १९, २०८१ काठमाडौं।
ललितपुरको लगनखेल बसपार्कलाई पुनः बस स्ट्यान्ड (यात्रु चढाउने र ओराल्ने) बनाउने विषयमा छलफल सुरु भएको छ । बुधबार ललितपुर महानगरपालिकाले यस विषयमा छलफल अघि बढाएको हो ।
 
छलफलका क्रममा महानगरका मेयर चिरीबाबु महर्जनले बसपार्कको हालको अवस्था देखेर लाज लागेको बताए । उनले भने, ‘महानगरको अरू ठाउँ र त्यो ठाउँ तुलना गर्न मिल्दैन, त्यहाँको अवस्था देखेर आफूलाई नै लाज लागेको छ ।’
 
सहरीकरणका कारण त्यो ठाउँमा बसपार्क राखिएको बताउँदै उनले मच्छिन्द्रनाथको रथ घुमाउन राखिएको खुला ठाउँ भएको नगर प्रमुखले प्रष्ट पारे ।
 
उनले भने, ‘त्यो ठाउँ अस्तव्यस्त भएकाले आलोचना भइरहेको छ, यो सुधार गर्न अत्याश्यक छ । यो वास्तवमा बसपार्क होइन, रथ घुमाउन राखिएको खुल्ला ठाउँ हो ।’
 
उपप्रमख मञ्जली शाक्य बज्राचार्यले बसपार्क व्यवस्थित र फुटपाथ व्यवस्थापनको विषयलाई एकैसाथ सम्बोधन गर्नुपर्ने बताइन् । ‘फुटपाथ र पार्क व्यवस्थापनलाई छुट्याएर काम गर्दा समस्या समाधान हुन सक्दैन,’ उनले भनिन् ।
 
नगर प्रहरी प्रमुख सिताराम हाछेथुले छलफलमा लगनखेल बसपार्क व्यवस्थापनसम्बन्धी योजना प्रस्तुत गरेका थिए ।
 
उक्त प्रस्तुति अनुसार लगनखेल बसपार्कमा चापागाउँ, कीर्तिपुर, भक्तपुर लगायतका ठाउँमा आउने बसलाई स्ट्यान्डको रुपमा मात्रै राख्ने उल्लेख छ ।
 
‘लगनखेलमा एक दुई वटा मात्रै बस राख्ने अन्य बसहरू सम्बन्धित पालिकामा नै राख्ने व्यवस्था गर्नुपर्छ, यसो हुँदा बसपार्क व्यवस्थित बनाउन सकिन्छ,’ हाछेथुले भने ।
 
हाछेथुका अनुसार लगनखेल बसपार्कबाट अहिले दैनिक ४८४ वटा साना, ठूला सार्वजनिक सवारीहरू छुट्ने गरेका छन् ।