आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड:

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । 
 
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । 
 
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।  यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।  यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ । 
 
पत्रकार महासंघको अधिवेशन आज
यसै अवसरमा नेपाल पत्रकार महासंघको अधिवेशन आज सुरु हुँदैछ । यसै अवसरमा सार्वजनिक वार्षिक प्रतिवेदनका अनुसार  नेपालमा मे ३ सन् २०२३ देखि अप्रिल २६ सन् २०२४ प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । गतवर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा र मे ३ सन् २०२१ देखि २०२२ को अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए ।
 
६२ वटा घटनामा १६८ जना पत्रकार र २ सञ्चारसंस्था गरी १७० पीडित भएका छन् । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन् । कब्जा तथा अवरोधका ३, पत्रकारमाथि दुर्व्यवहार  तथा धम्कीका २९, आक्रमणका १४ वटा घटना भएका छन् ।
 
यस्तै पेशागत असुरक्षाका १४ वटा घटना भएका छन् । यसबाट ९३ जना पत्रकार र ८ सञ्चारसंस्था गरी १०१ पीडित भएका छन् । यस्तै लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।