विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सङ्घ, सङ्गठन तथा संस्थाका पत्रकारहरू प्रभातफेरी कार्यक्रममा सहभागी थिए । 
 
‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर आज यो दिवस मनाइँदै छ ।
 
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
 
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।