आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण

बैशाख २१,२०८१

-आस्था न्यूज

बैशाख २१, २०८१ काठमाडौं ।
चर्को गर्मीको मारमा परिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ ।
 
जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि-मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
 
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने बताइन् । ‘अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुन्छ,’ उनले भनिन् ।
 
यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण रुपन्देहीमा दुई दिन विद्यालय बन्द गरिएको छ ।