डढेलो निभाउन हेलिकप्टरको प्रयोग गर्नुपर्ने गृहमन्त्रीको प्रस्ताव

बैशाख २१,२०८१

-आस्था न्यूज

वैशाख २१, २०८१ काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
 
गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् ।
 
शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै गृहसचिव अर्यालले दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणको अभाव रहेको बताए ।
 
उनले भने ‘अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट आगो निभाउने कार्य भएको हामी देखिराखेका छौं । हाम्रोमा पनि त्यो उपकरणको व्यवस्था भइदिए हुन्थ्यो भन्ने मन्त्रालयको अपेक्षा छ । माननीय गृहमन्त्रीज्यूले मन्त्रिपरिषद्‌मा पनि त्यो कुरा गरिसक्नुभएको छ ।’
 
आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणका साथसाथै हेलिकप्टर प्रयोग गर्ने सम्बन्धमा संसदीय समितिले सरकारलाई निर्देशन गरिदिए हुन्थ्यो भन्नेसमेत गृह मन्त्रालयको अपेक्षा रहेको अर्यालले बताए ।