अर्काको नागरिकताबाट कम्पनी खोलेर करिब ३ करोड ठगी, दुई जना पक्राउ

बैशाख २१,२०८१

-आस्था न्यूज

वैशाख २१, २०८१ काठमाडौं ।
भेट्टाएको नागरिकताबाट कम्पनी खोलेर करिब तीन करोड रुपैयाँ ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
 
पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ७ बिष्टगाउँ बस्ने ३५ वर्षीय राजन श्रेष्ठ र झापाको गौरादह नगरपालिका १ घर भइ ललितपुरको भैसेपाटी बस्ने ४६ वर्षीय ईश्वरी पाण्डे छन् ।
 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई पेप्सीकोलाबाट र पाण्डेलाई अनामनगरबाट पक्राउ गरेको हो ।
 
उनीहरु उदयपुरका नारायणबहादुर राई र बाजुराका पर्वराज पाण्डेको नागरिकता भेट्टाएर त्यसमार्फत कन्सल्टेन्सी खोलेर करिब ३ करोड रुपैयाँ ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
 
२१९ जनाबाट २ करोड ७८ लाख रुपैयाँ ठगी भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । प्रहरीले पक्राउ गरेपछि पीडितको संख्या अहिले थप भएको छ ।
 
प्रहरी सम्पर्कमा आएकाहरुको विवरण र यसअघि वैदेशिक रोजगारीमा परेको उजुरीको आधारलाई मान्दा अहिलेसम्म करिब ३ करोड रुपैयाँ ठगी भएको खुलेको हो ।
 
काठमाडौं पुतलीसडकमा नियोनी एडुकेशन कन्सल्टेसी खोली कामदार भिसामा जापान पठाउने भन्दै उनीहरुले ठगी गरेको आरोप छ ।
 
एडुकेशन कन्सल्टेन्सी खोल्न पनि भेट्टाएकै नागरिकता उनीहरुले प्रयोग गरेका थिए भने रकम लिनका लागि कामना विकास बैंकमा समेत भेट्टाएकै नागरिकताबाट खाता खालेको पाइएको छ ।
 
प्रहरीले उनीहरुबाट विभिन्न कागजातहरु बरामद गरेको छ । नारायणबहादुर राईको सक्कल नागरिता राजनको साथबाट बरामद भएको छ । नारायणबहादुर राईकै नामको सानिमा बैंकको एटीएम, चेकबुक, नारायणबहादुरलाई नियोनीको म्यानेजिङ डाइरेक्टर भनेर बनाइएको कार्ड, भिजिटिङ कार्ड बरामद भएको छ ।
 
त्यसैगरी राजन श्रेष्ठको सक्कली नागरिता, चेकबुकहरु ५ थान मोबाइल, राहदानी, शैक्षिक प्रमाणपत्रहरु बरामद भएका छन् । इश्वरी पाण्डेबाट भने विभिन्न व्यक्तिका ११ थान राहदानी, पर्वराज पाण्डेको सक्कली नागरिता, पर्वराज पाण्डेको नामको कामना विकास बैंकको चेक बुक बरामद भएको छ ।
 
ईश्वरी पाण्डेको विभिन्न बैंकको चेकबुकहरु, भारतीय बैंकको चार थान एटीएम कार्ड र भारतीय सीमकार्डहरु बरामद भएका छन् ।