Trending :
 

कोशीमा नयाँ सरकार गठनको आह्वान, एमाले-माओबादीले दाबी पेस गर्दै

बैशाख २७,२०८१

-आस्था न्यूज

बैशाख २७, २०८१ काठमाडौं ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । बुधबार राति खापुङले संविधानको धारा १६८ को उपधारा ९५० अनुसार २८गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।
 
यसअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएकाले पदमुक्त भइसकेको दाबी गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए ।
 
मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८० असोज २७ गते गठन भएको सरकारलाई तत्कालीन अवस्थामा प्रदेश सभाका बहुमत सदस्यहरूको विश्वासको मत प्राप्त भएका थियो । तर २०८० चैत २६ गते ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी निवेदन पत्र प्राप्त भएको, कोसी प्रदेश सभा सचिवालयको २०८१ वैशाख १० गतेको पत्र मार्फत कोसी प्रदेश सभामा पेस भएको संकल्प प्रस्ताव बहुमतले पारित भएको साथै उक्त सचिवालयको वैशाख २६ गतेको पत्र मार्फत संवैधानिक व्यवस्था बमोजिम समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव दर्ता हुन नआएको जानकारी प्राप्त भएको जनाउँदै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरिएको विज्ञप्तीमा उल्लेख छ ।
 
यस्तै, एमाले संसदीय दलका नेता हिम्मत कार्कीका अनुसार आज दिउँसो एमाले(माओबादी नयाँ सरकारका लागि संयुक्त दाबी पेश गर्ने तयारी छ।
 
एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद् सचिवालयमा भेला हुन निर्देशन दिएको छ। उता माओवादीले पनि आफ्ना सांसदहरूलाई संसद् सचिवालय आउन आग्रह गरेको जनाएको छ।