सुरक्षण मुद्रण केन्द्रमा ४० करोड भ्रष्टाचार, विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा
-आस्था न्यूज
वैशाख ३०, २०८१ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको भनी पौडेलसहित ३ जनाविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले उनीहरूमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
अमेरिकाको स्थायी आवास अनुमति पत्र (पीआर) लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध केही साताअघि मात्रै दोस्रो मुद्दा दायर भएको थियो ।
आइतबार मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
केही वर्षदेखि योजना छनोटका आधारभूत प्रक्रिया नै पूरा नगरी सुरक्षण मुद्रण केन्द्रका नाममा ठूलो रकम विनियोजन भइरहेको थियो ।