खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत
-आस्था न्यूज
वैशाख ३०, २०८१ काठमाडौं ।
चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.६१ प्रतिशतमा खुम्चिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्य वृद्धिदर खुम्चिएको देखिन्छ । गत आर्थिक वर्षको चैतमा यस्तो मूल्य वृद्धिदर ७.७६ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.२१ प्रतिशत छ भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर ४.१४ प्रतिशत छ । खाद्य समूहमा पनि मरमसला उपसमूहको मूल्यवृद्धि सबैभन्दा उच्च देखिन्छ ।
मरमसला उपसमूहको मूल्य २२.६४ प्रतिशत, तरकारीको १६.९९, दाल तथा गेडागुडीको १०.९४, खाद्यजन्य पदार्थको ७.५९, गैर मदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशत बढेको छ । घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने १०.१० प्रतिशत घटेको छ ।
सेवासमूह अन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.८१ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।
चैत महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४।०६ प्रतिशत, तराईको ४.५८ प्रतिशत, पहाडको ५.३३ प्रतिशत र हिमालको ४.३२ प्रतिशत रहेको छ ।