Trending :
 

कैलालीका किसान जैविक विषादीको प्रयोगमा जुट्र्दै

बैशाख ३१,२०८१

-रासस

बैशाख ३१, २०८१ काठमाडौं ।
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
 
कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । विगतका तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेको बताउँछन् ।
 
तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने कैलालीको गोदावरी नगरपालिका-४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउँछन् ।
 
वडा नम्बर ४ खैरानाकी रेश्मीदेवी चौधरीले पनि आफ्नो बारीमा रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्ने गरेको बताइन् । उनले भनिन्, ‘आजभोलि विषादी प्रयोगमा हामी सचेत भएका छौँ । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अरु मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थाल्यौँ ।’
 
किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले गर्दा पनि बारीमा लगाएको बाली बचाउन सकिने किसान बताउँछन् ।
 
जैविक विषादी खर्चका हिसाबले पनि सुरक्षा हुने, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ ।
 
सहजपुरका किसान डबलबहादुर खडायतले पनि विसं २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गर्दै आएका छन् । उनले पनि पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा बजारबाट रासायनिक विषादी किनेर ल्याई प्रयोग गर्थे तर अहिले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्दैनन् ।
 
कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने पालिकाले जनाएको छ ।