Trending :
 

मनोमानी रुपमा करका दर हेरफेर हुदैनः अर्थमन्त्री पुन

बैशाख ३१,२०८१

-आस्था न्यूज

वैशाख ३१, २०८१ काठमाडौं ।
अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रुपमा करका दर हेरफेर नहुने बताएका छन्। राजधानीमा आइतबार आयोजित पूर्वबजेट छलफलमा मन्त्री पुनले आर्थिक शिथिलता अन्त्य गरेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्था रहेको भन्दै कसैका स्वार्थ हेरर नभई मुलुक हेरेर करका दर हेरफेर गरिने प्रतिबद्धता जनाए। 
 
‘मैले यसअघि पनि पटकपटक सार्वजनिक मञ्चहरुमार्फत भनेको छु। कोही चिनेका, कोही मेरो पार्टी निकटका, कोही सरकार निकटका व्यवसायीलाई  हेरेर करका दरहरुमा आफूखुसी जे मन लाग्यो गर्दिनँ’, उनले भने, ‘पहिला के थियो, अहिले के छ र के कारणले हेरफेर भएको कारणसहित तीन महले बनाएर गर्छु।’
 
एउटा अर्थमन्त्रीको सनकमा व्यवसायीले वर्षौं लगाएर गरेको आर्जन गरेको सम्पत्ति र लगानी डुबाउन नमिल्ने मन्त्री पुनको स्पष्टोक्ति थियो। आफूहरुले लोकतान्त्रिक र जवाफदेही राज्य प्रणाली सञ्चालन गरिरहेको भन्दै पारदर्शी भएर काम गर्ने प्रतिबद्धता जनाए। ‘एउटा मन्त्रीको सनकले वर्षौंसम्म गरेको लगानी डुबाउन मिल्दैन’, मन्त्री पुनले भने, ‘जनताले र राज्यले विश्वासपूर्वक  दिएको जिम्मेवारी विश्वासपूर्वक निर्वाह गर्नुपर्छ।  त्यसमा हाम्रो प्रतिबद्धता छ।’   
 
नेपालले लोकतन्त्रान्त्रिक र खुला तथा प्रतिस्पर्धात्मक व्यवस्थाको अभ्यास गरिरहेकाले उद्योग व्यवसायसम्बन्धी नीति पनि खुला र पारदर्शी हुनुपर्नेमा सरकार स्पष्ट रहेको मन्त्री पुनको भनाइ थियो। उनले उद्योग व्यवसायमा पनि धेरै राम्रा मानिसहरु रहेको भन्दै सरकार निजी क्षेत्रलाई अघि लगाएर हिंड्न चाहेको उल्लेख गरे।