Trending :
 

सन्दीपको मुद्दाको अन्तिम फैसला आउने भएपछि उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा

जेठ ०२,२०८१

-आस्था न्यूज

जेठ २, २०८१ काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम फैसला बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । फैसलाको तयारीसँगै उच्च अदालत पाटनको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
 
अदालतमा मंगलबारदेखि सुरु भएको बहस बुधबार पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा अहिले मुद्दा सुनुवाइ जारी छ । 
 
मंगलबार अदालत परिसरबाहिर मुद्दाको फैसला सुन्नका लागि ठुलो भिड देखिएको थियो । साँझ ६ बजेर २० मिनेटसम्म बहस भए पनि सुनुवाइ नसकेपछि हेर्दाहेर्दैमा राखिएको थियो । फैसला नआएपछि निराश बनेकाहरूले अदालतबाहिर नै नाराबाजी गरेका थिए ।
 
सो घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले बुधबार अदालत वरिपरिको सुरक्षा व्यवस्था कडा गरेको छ । सम्बन्धित व्यक्तिबाहेक अन्यलाई अदालत मार्गमा समेत प्रवेश निषेध गरेको छ भने भिडभाड गर्न रोक लगाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले मुद्दाको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा गरिएको जानकारी दिए ।