ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याउन खोजेको कांग्रेसको आरोप
-आस्था न्यूज
जेठ ३, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्याउन खोजेको बताएका हुन् ।
‘एमाले ७६ (३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ (३) मा गइसकेपछि ९ओली० कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’ उनले भने ।
संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।