सभामुख पदीय जिम्मेवारी निर्वाह गर्न चुकेको कांग्रेस महामन्त्री थापाको प्रतिक्रिया
-आस्था न्यूज
जेठ ३, २०८१ काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ ।
बिहीबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल र प्रतिपक्षमा रहेका दलहरुसमेत उभिएको अवस्थामा राष्ट्रपति कार्यालयको पत्र पढ्ने, उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनेजस्ता कार्य सभामुखबाट भएको भन्दै कांग्रेसले सभामुखको पदीय जिम्मेवारी निर्वाह गर्न घिमिरे चुकेको ठहर गरेको हो ।
साँझ पत्रकार सम्मेलनमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन थापाले सभामुखले तटस्थताको भूमिका निभाउन नसकेको बताए ।
ुआज सदनमा जे दृश्य देखियो, यो सन्दर्भमा सम्माननीय सभामुखले सदनको सभामुखको जिम्मेवारीबाट जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो निर्वाह गर्न सर्वथा चुक्नु भएको भन्ने हाम्रो ठहर रहेको छ, महामन्त्री थापाले भने, सदनमा सभामुख जहिल्यै दलगत आबद्धताबाट मुक्त भएको, आफ्नो पुरानो दलगत रुझानहरुबाट पूर्णरुपमा अलग भएर तटस्थ भूमिका निर्वाह गर्ने अभिभावकको रुपमा अपेक्षा गरेका हुन्छौं । त्यो रुपमा लिएका हुन्छौं ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसलगायत प्रतिपक्षी दलहरुको अवरोधका बीच सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका थिए । बैठक प्रारम्भ हुनासाथ वेल घेराउ गरेर कांग्रेस सांसदहरुले नाराबाजी जारी राखिरहँदा सभामुखले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।
त्यसपछि उपप्रधानमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस र सत्तारुढ एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति बनेको थियो ।