Trending :
 

नेपालमा फुस्रो सारौं भेटियो

जेठ ०४,२०८१

-आस्था न्यूज

जेठ ४, २०८१ काठमाडौं । 
नेपालमा पहिलो पटक फुस्रो सारौं प्रजातिको चरा फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको नेपाल पन्छीविद् संघले जनाएको छ ।
 
अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङ लोमान्थाङ स्थित ३ हजार ८ सय ४० मिटर उचाइमा नयाँ चरा फेला परेको संघले जनाएको छ ।
 
नेपालका चराविद् शंकर तिवारीले उक्त क्षेत्रमा विदेशी पाहुनासँगै चरा अवलोकन गर्दा २५ वैशाख बिहान ८ः४९ बजे नयाँ चरा देखेका थिए । त्यसपछि तिवारीले उक्त चराको तस्वीर खिचेर आफ्नो तर्फबाट प्रारम्भिक पहिचान गरे पनि यकिन हुन बाँकी थियो ।
 
संघका अनुसार ३१ वैशाखमा सो चराको यकिन पुष्ट्याइँका लागि नेपाल बर्ड कमिटी (एनबीआरसी) मा विवरण सहित चराको तस्वीर पठाइएको थियो । त्यसपछि नेपालमा भएका चराहरूको सूची र पन्छीविदहरूको छलफलपछि नयाँ चरा भेटिएका शुक्रबार पुष्टि भएकोे तिवारीले बताए ।