मौसमः केही भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा
-आस्था न्यूज
जेठ ६, २०८१ काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी र वागमती प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।
बागमती, कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।