रास्वपा सुदूरपश्चिमले छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने
-आस्था न्यूज
जेठ ६, २०८१ काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिले पर्यटन प्रवद्र्धन र छाउपडीविरुद्धको अभियान चलाउने भएको छ ।
अछामको प्रमुख पर्यटकीय स्थल रामारोशन ताल क्षेत्रमा शनिबार बसेको प्रदेश समितिको पूर्ण बैठकले रामारोशनसहित सुदूरपश्चिम पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले प्रदेशका पर्यटकीय क्षेत्रको पहिचान तथा प्रवद्र्धन, सुदूरपश्चिममा व्याप्त छाउपडी कुप्रथाविरुद्धको अभियान चलाउने लगायतका निर्णय गरिएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा व्याप्त छाउपडी कुप्रथाविरुद्ध सचेतनामूलक अभियान चलाउने र उक्त अभियान पार्टी सदस्य स्वयंको परिवारबाट सुरु गर्ने निर्णय गरिएको प्रदेश महामन्त्री पारस बाहुनले बताए ।
उनकाअनुसार पार्टीमा आबद्ध नेता, कार्यकर्ताले छाउपडी कुप्रथा अवलम्बन गरेको तथा परिवारका सदस्यलाई छाउपडी अवलम्बन गर्न दबाब दिएको पाइएमा कारवाही गरिनेछ ।
यस्तै, बैठकले पार्टीको परिमार्जितले विधानले सुदूरपश्चिम प्रदेशमा संगठन गठनमा समस्या देखिएको भन्दै प्रवक्ता सन्तोशराज जोशीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन, पार्टीका नेता, कार्यकर्ताको अनुशासन र आचरणका लागि रामारोशन आचारसंहिता बनाउँदै पारित समेत गरेको प्रदेश सदस्य हेमन्तनारायण जोशीले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै प्रदेश सभापति विष्टले एकताबद्ध भएर सुदूरपश्चिम प्रदेशमा पार्टी संगठन विस्तारमा लाग्न निर्देशन दिएका छन् ।