लागुऔषध प्रयोगकर्ताले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या, ७ जना पक्राउ
-आस्था न्यूज
जेठ ६, २०८१ काठमाडौं।
नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर-९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेका २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।
उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।
उनीहरू सबै लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ। गएको शुक्रबार तारकेश्वर नगरपालिका-९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।