Trending :
 

धादिङ र चितवनका चेपाङ बस्तीमा पुग्यो विजुली

जेठ ०६,२०८१

-आस्था न्यूज

जेठ ६, २०८१ काठमाडौं। 
अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको छ ।
 
नेपाल विद्युत् प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तारका लागि मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ ।
 
मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्ड अनुसारको ५–३० एम्पिएर क्षमताको बक्स सहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । 
 
चितवनको इच्छाकामना गाउँपालिका–१ कालिङमा शनिवार गरिएको कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकालाई पूर्ण विद्युतीकरण भएको घोषणा गरे । साथै, कार्यकारी निर्देशक घिसिङले गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायलाई निःशुल्क मिटर पनि वितरण गरे ।
 
प्राधिकरणले इच्छाकामना गाउँपालिकाका ७वटा वडाहरूको विद्युतीकरणका चालू आर्थिक वर्षमा मात्र १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।  कार्यकारी निर्देशक घिसिङले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले कमाएको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लिएर देशलाई पूर्ण विद्युतीकरण गर्ने कार्य भइरहेको बताए ।