भावी रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै
-आस्था न्यूज
जेठ ७, २०८१ काठमाडौं ।
नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।
संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले व्यक्तिको नाम किटान गरेर समिति बन्न नसक्ने अडान राखे पछि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो ।
आइतबार गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि चित्त नबुझे नेपाली काँग्रेसले बोल्न पाउनुपर्छ भन्ने सहमति सभामुख देवराज घिमिरेले उल्लंघन गरेको भन्दै कांग्रेसले यस विषयमा पनि संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ ।
त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर महामन्त्री गगन थापाले आज बिहान ११ बजेसम्म सहकारी प्रकरणमा छानबिन समिति गठन नभए संसद बैठक चल्न नदिने बताइसकेका छन् ।