Trending :
 

प्रिमियर लिग उपाधि म्यानचेष्टर सिटीले जित्यो

जेठ ०७,२०८१

-आस्था न्यूज

जेठ ७, २०८१ काठमाडौं ।
म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दै कीर्तिमान बनाएको छ ।
 
आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम खेलमा वेष्ट हम युनाइटेडलाई ३(१ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।
 
अन्तिम दिनसम्म सिटी र आर्सनल दुवै उपाधि होडमा थिए । उपाधि जित्न सिटीलाई स्पष्ट जितको आवश्यकता थियो । यस्तै आर्सनलको हकमा भने उपाधि जित्न सिटीले अंक गुमाउनुपर्ने थियो ।
 
तर अन्तिम दिन सिटी र आर्सनल दुवै विजयी भए । उपाधि सिटीको पक्षमा गयो । सिटीले ३८ खेलबाट ९१ अंक जोड्यो । एभरटन विरुद्ध २-१ को पुनरागमन जित हात पारेको आर्सनलले ८९ अंक जोड्यो ।
 
सिटी लगातार चौथो पटक प्रिमियर लिग जित्न पहिलो टोली बनेको छ । सिटीलाई च्याम्पियन बनाउन फिल फोडेनले दुई तथा रोड्रीले एक गोल गरे ।
 
सिटी र आर्सनलसँगै लिभरपुल र एस्टन भिल्ला यस सिजन शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।