गिरिबन्धुले जस्तै जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक
-आस्था न्यूज
जेठ ७, २०८१ काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका छन् ।
यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलो फड्को हुने सम्भावना रहेको आङ्कलन गरिएको उनको दाबी छ । ‘सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन’, उनले भनेका छन् ।
कानुन नै परिवर्तन गर्न कुरेर बस्ने काम भएको भन्दै उनले त्यस्तो भयो भने यसले राज्यको खर्बौँ रकम अपचलनको ढोका खोलिदिने बताएका छन् ।
‘जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेगावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौँ किलोमिटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला’, बालेनको भनाइ छ, ‘यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ ।’