Trending :
 

कोलकाता आईपिएलको फाइनलमा

जेठ ०९,२०८१

-आस्था न्यूज

जेठ ९, २०८१ काठमाडौं ।
कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ ।
 
मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।
 
हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले अर्धशतक प्रहार गरे । २४ बलको सामना गरेका श्रेयसले चार छक्का र पाँच चौकाको मदतमा ५८ रन बनाए ।
 
त्यस्तै वेंकटेशले २८ बलमा ५१ रन बनाए । त्यस्तै रहमानउल्लाह गुरबाज २३ तथा सुनिल नारायणले २१ रनको योगदान गरे । हैदरावादका लागि कप्तान प्याट कमिन्स र टी नटराजनले एकरएक विकेट लिए ।
 
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित १९.३ ओभरमा अलआउट हुनुअघि १५९ रन बनाएको थियो । हैदरावादका लागि राहुल त्रिपाठीले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त भएन् । ३५ बल खेलेका त्रिपाठीले सात चौका र एक छक्कासहित ५५ रन बनाए । त्यस्तै हेनरिक क्लासेनले ३२, कमिन्सले ३०, अब्दुल समदले १६ रनको योगदान गरे ।
 
हैदरवादको ब्याटिङ्लाई रोक्नेक्रममा कोलकताका मिचेल स्टार्कले चार ओभरमा ३४ रन खर्चिएर महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै बरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा,सुनिल नारायण, हर्षित राना र आन्द्रे रसेलले एकरएक विकेट लिए ।
 
योसँगै कोकाता फाइनलमा प्रवेश गरेको छ, भने पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छ। बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।